Wednesday, November 30, 2022
spot_img

सुन्दर गुर्भाकोटको ‘कुरूप’ कथा

पढ्नै पर्ने सामाग्री

दुर्गा पाण्डे
दुर्गा पाण्डेhttp://www.radioaarambha.com
दुर्गा पाण्डे रेडियो आरम्भ ९७.५ एफ. एमका लागि रिपोर्टर /प्रस्तोता हुन्। उनी स्थानीय विषयमा फिचर समेत लेख्छिन्।

सुर्खेत। गुर्भाकोट नगरपालिका पूर्वी सुर्खेतको मात्रै नभई कर्णाली प्रदेशकै सुन्दर नगरपालिका हो भन्नेमा यहाँका मानिसहरु गर्व गर्छन। त्यसो त भेरी किनारको वरिपरी अवस्थित गुर्भाकोट मनोरम पनि देखिन्छ। तीव्र शहरीकरणतर्फ अघि बढिरहेको गुर्भाकोटको स्वरुप भने सँधै मनोरम देखएिला र भन्नेमा प्रश्न उब्जिन थालेका छन्। तीव्र शहरीकरण सँगसँगै विकास र समृद्धि पथमा लम्किएको भन्ने गरिएको गुर्भाकोटलाई नै कुरुप देखाउने  केही दृष्य देखिन थालेका छन्। गुर्भाकोटको स्वरुपले सुन्दर शहरको आकार ग्रहण नगर्दै कुरुप पो बन्न लागेको हो कि भन्ने आशंका बढ्दो छ। सुन्दर गुर्भाकोटभित्रको कुरुप कथा खोज्न हामी कुरुप बन्दै गरेका गुर्भाकोटका मुख्य बजार क्षेत्र प्रवेश गरेका छौं।

- Advertisement -

गुर्भाकोट एउटा शहर उन्मुख क्षेत्र हो। यो कर्णाली प्रदेशमा बन्दै गरेका नयाँ सहर मध्यको एउटा शहर हो । कुनैपनि शहरको परिचय त्यो शहरको सभ्यता र सुन्दरता संग जोडिन्छ। त्यसो त सडक सञ्जालमा ठीकठीकै प्रगति देखिएपनि दीर्घकालीन फोहोर व्यवस्थापन र ढल निकास लगायतका कैयौँ विषयमा सोच बनाउनै बाँकी छ। शहर उन्मुख गुर्भाकोटमा अन्य थुप्रै समस्या र चुनौती होलान । तर हेर्दा सामान्य लागेपनि गुर्भाकोट नगरपालिका भित्रका मुख्य बजार क्षेत्रहरु मेहेलकुना, बोटेचौर, बडाखोली लगायतका बजार क्षेत्रहरु दिनानु दिन कुरुप बन्दै गइरहेका छन्। 

- Advertisement -

गुर्भाकोट नगरपालिकाको मुख्य बजार मेहेलकुनाको प्रहरी चौकी नजिकैको मुख्य चोक जहाँबाट नगरपालिका कार्यालय तर्फ जाने बाटो समेत छ, त्यही बीच सडकमा रहेको बिजुलीको पोलमा टाँगिएका दर्जन बढी व्यवसायका साइन बोर्डहरुले भेरी करिडोरमा आफ्नो सुन्दर शहरको परिचय स्थापित गर्न लागेको गुर्भाकोटलाई नै गिज्याइरहेको छ। बीच सडकमा रहेका बिजुलीका पोलकै कारण बजार क्षेत्रको मुख्य सडक कालोपत्रे हुन नसकेको पीडा त छदैं छ त्यसैमाथि बिजुलीका पोलमै झुन्ड्याइने यस्ता व्यावसायिक विज्ञापनका बोर्डहरुले शहरको सुन्दरता माथि नै प्रश्न गरिरहेका छन्। बिजुलीका पोलमा विज्ञापनका बोर्ड मेहेलकुना बजारमा मात्रै होइन, गुर्भाकोटका अन्य बजारोन्मुख ठाउँहरुमा समेत देख्न सकिन्छ।

 

मेहेलकुना बजारको मुख्य चोकमा भएका बिजुलीका पोलमा दर्जनौँ विज्ञापनजन्य बोर्डहरु देखेपछि त्यही चोक नजिकै फेन्सी पसल सञ्चालन गर्दै आउनु भएकी तारा कुमारी बज्राचार्यलाई हामीले तपाईँकै पसल अगाडि बिजुलीको पोलमा लठपत्र इन्टरनेटका केबलहरू र दर्जनौं विज्ञापनजन्य बोर्ड टाँगिएको देख्दा तपाईँलाई कस्तो लाग्छ? भनेर सोध्यौं। बज्राचार्यले यी दृष्यले मेहलकुना बजारको सुन्दरता घटेको बताउनु भयो। आफ्नो ठाउँको सुन्दरता हराउँदै जानु भनेको दुख लाग्दो कुरा भएको बताउँदै उहाँले इन्टरनेटका तार र विज्ञापनका बोर्डहरु बीच सडकको पोलमाभन्दा एउटा साइडमा गरे राम्रो हुने सुझाव दिनु भयो।

त्यसो त यो मेहेलकुना बजारको एउटा चोक अथवा एक ठाउँको मात्रै समस्या होइन। बजार क्षेत्रभरिका बिजुलीका पोलमा विभिन्न विज्ञापनका बोर्ड र इन्टरनेटका तारहरु असरल्ल अवस्थामा छन्। मेहेलकुना बजारमै स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आउनु भएका धनिलाल पोखरेलले बोर्ड र प्रचार सामाग्रीहरु राख्नु नराम्रो नभएपनि व्यवस्थित ढंगले राख्नुपर्ने बताउनु भयो।

मेहेलकुना बजारकै अस्पताल रोडको चोकमा व्यवसाय गर्दै आउनु भएका मंगल बस्नेतले यसरी विज्ञापनजन्य बोर्डहरु, इन्टरनेटका तारहरु जथाभावी राख्नाले बजार क्षेत्रले सुन्दरता गुमाएको भन्दै यीनको व्यवस्थापन गर्ने तरिकाबारे नगरपालिका तथा अन्य नियामक निकायहरुले पहल गर्नुपर्ने धारणा राख्नु भयो।

जिम्मेवारीको कुरा गर्ने हो भने आफ्नो शहर, बजार, टोललाई सुन्दर देखिने गरि राख्नु त्यो क्षेत्रका नागरिककै पहिलो दायित्व हो। तर नागरिकले ध्यान दिएनन् भने त्यो समुदायका अगुवा, राजनीतिकर्मी, सामाजिक अभियन्ताहरुले अग्रसरता लिन सक्नुपर्छ। त्यसरी पनि शहरको सभ्यता र सुन्दरता कायम गर्न नसकिए स्थानीय सरकारले बजार क्षेत्रहरुलाई सुन्दर राख्ने अभियानको अभिभावकत्व प्रदान गर्न सक्नुपर्छ। तर हाम्रा जनप्रतिनिधि, पालिकाका कर्मचारीहरुले दिनहुँ आफैले आवतजावत गरिरहने बाटो, चोकहरुमा अस्तव्यस्त विज्ञापनका बोर्डहरु र इन्टरनेटका असरल्ल केबलहरु तर्फ किन आँखा लगाउन नसकेका हुन? गम्भिर प्रश्न चिन्ह खडा भएको छ। 

बजार तथा सडक क्षेत्रमा टाँगिने विज्ञापनका बोर्डहरुलाई नगरपालिकाले कानून निर्माण गरेरै व्यवस्थित गर्न सक्छ र करको दायरामा ल्याई आन्तरिक राजश्वमा बृद्धि गर्न समेत गर्नसक्छ तर अहिले सम्म गुर्भाकोट नगरपालिकाको ध्यान त्यसतर्फ पुगेको देखिदैन।

गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क.ले हामीले उठाएको विषय हेर्दा र सुन्दा सामान्य लागेपनि दिर्घकालिन दृष्टिकोणले हेर्ने हो भने अत्यन्त महत्वपूर्ण भएको बताउनु भयो। शहर बजार क्षेत्रलाई अव्यवस्थित बन्दै जाने विषय अहिले नै नियमन र नियन्त्रण गर्न नसकिए भविष्यमा यो समस्या विकराल रुपमा देखिनसक्ने उहाँको स्वीकारोक्ति थियो। उपप्रमुख बि.कले आगामी कार्यपालिकाकै बैठकमा यो विषय आफूले उठाउने र बजार क्षेत्रभएका सम्बन्धित वडाअध्यक्षहरुले सूचना जारी गरि यस्ता विज्ञापनजन्य बोर्ड र असरल्ल इन्टरनेटका तारहरु हटाउन अनुरोध गर्ने गरि प्रस्ताव लैजाने बताउनु भयो। वडा कार्यालयहरुले जारी गरेको सूचनाले बिजुलीका पोल र सडक क्षेत्रमा भएका प्रचार सामाग्री नहटे नगरपालिकाले आफ्ना सम्पूर्ण संरचनाहरु प्रयोग गरेर एक महिना भित्र हटाउने प्रतिवद्धता व्यक्त गर्नु भयो।

उपप्रमुख बि.कले एकमहिना भित्र बजार तथा सडक क्षेत्रबाट अव्यवस्थित र कुरुप देखाउने सबै संरचना हटाउन गरेको प्रतिवद्धता कार्यान्वयन समयमै हुन्छ कि हुँदैन भनेर एकातिर सचेत बन्नुपर्ने आवश्यकता छ भने स्थानीय व्यापारी, टोलबासी र नागरिकले समेत आफ्नो बजार क्षेत्रको सुन्दरता कायम राख्न ती विज्ञापनका बोर्डहरु हटाउन स्थानीय सरकारलाई सहयोग गर्न अत्यन्त आवश्यक छ।

Facebook Comments

spot_img
spot_img

भर्खरै प्रकाशित

Facebook Comments